Kathmandu Zambia
06:47:42pm 03:02:42pm

प्रविधि हस्तान्तरण र अनुसन्धानमा काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच सहकार्य हुने

धुलिखेल – काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ। विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इञ्जिनियर देशबन्धु बस्नेत (अजित) बीच विश्वविद्यालयमा दुई पक्षबीच सम्बन्ध प्रगाढ बनाउनबारे अन्तरक्रिया भएको हो।

अन्तरक्रियामा विश्वविद्यालय र जाम्बियाबीच विगतमा भएका सहकार्यको समीक्षा गर्दै त्यसलाई आउँदा दिनमा अझ लाभदायी बनाउन के गर्न सकिन्छ भन्नेबारे बृहत छलफल भएको उपकुलपति प्रा डा थापाले जानकारी दिए।

उनले खानी, ऊर्जा, प्रविधि हस्तान्तरण, अनुसन्धानमूलक गतिविधि, संकाय–विद्यार्थी आदानप्रदान कार्यक्रमलगायतबारे दुईपक्षबीच छलफल भएको बताए।

‘शैक्षिक उत्कृष्टता एवं प्राविधिक र व्यावसायिक शिक्षाका लागि विश्वविद्यालय र जाम्बियाबी सहकार्य आवश्यक रहेकोबारे दुवै पक्ष स्पष्ट छन्’, उनले भने, ‘अन्तरक्रियामा दुवै पक्षबीच भविष्यमा थप सहकार्य गर्न सकिने सम्भाव्य र रुचिका क्षेत्रहरू पहिल्याउन र त्यसैभित्र रहेर काम गर्न सहमतिसमेत भएको छ।’

उनका अनुसार जाम्बियाका विश्वविद्यालयहरूबीच काठमाडौँ विश्वविद्यालयको सहकार्यको वातावरण बनाउन गैरआवासीय नेपालीहरूलाई परिचालन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको छ।

स्कुल अफ इञ्जिनियरिङका सहायक डीन वृजेश अधिकारीले विश्वविद्यालयबारे प्रस्तुतीकरण गरेका थिए। अधिकारीको प्रस्तुतिमा नेपाल जाम्बियाका मात्र नभई अन्य अफ्रिकी मुलुकका विद्यार्थीका लागि पनि प्रभावकारी उच्च शिक्षाको केन्द्र बन्न सक्ने सम्भावनाबारे उल्लेख गरिएको छ।

विश्वविद्यालयबाट दीक्षित १९ जना जाम्बियाका नागरिक आफ्नो देशका विभिन्न क्षेत्रमा पहिलेदेखि नै कार्यरत रहेको बताइएको छ। ती पूर्वविद्यार्थीहरुलाई जाम्बियामा विश्वविद्यालयलाई अझ लोकप्रिय बनाउन सद्भावना दूतका रूपमा परिचालन गर्नुपर्ने अन्तरक्रियामा सुझाव दिइएको थियो।

विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि हरेक संकायमा १० प्रतिशत सिट आरक्षणको व्यवस्था गरेको छ। विश्वविद्यालयमा कार्यरत हरेक प्राध्यापक र सहप्राध्यापकको मातहत अनुसन्धानको काम गर्ने रिसर्च फेलो रहने नयाँ व्यवस्थाअनुरुप यदि उक्त फेलो विदेशी नागरिक भएमा उनको शिक्षण शुल्क र स्थानीय आवास सुविधासमेत उपलब्ध गराइने व्यवस्था रहेको विश्वविद्यालयले जनाएको छ।

यी व्यवस्थाले विदेशी विधार्थीहरुलाई नेपालमा अध्ययन गर्न आकर्षित गर्ने हुँदा यसबारे जाम्बियासहित अन्य अफ्रिकी मुलुकहरूमा प्रचार गरिदिन महावाणिज्य दूत बस्नेतको ध्यानाकर्षण गरिएको विश्वविद्यालयका एक पदाधिकारीले जानकारी दिए।

अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्रा डा थापासँगै स्कुल अफ साइन्सेजका डीन प्रा डा कन्हैया झा, स्कुल अफ इञ्जिनियरिङका डीन प्रा डा मनीष पोखरेल र सहायक डीन वृजेश अधिकारीको सहभागिता रहेको थियो। त्यस्तै रिसर्च डेभलपमेन्ट एन्ड इन्नोभेसनका निर्देशक प्रा डा दीपक सुवेदी, उपकुलपति कार्यालयको कोअर्डिनेटर डिभिजनका निर्देशक प्रा डा विभूतिरञ्जन झा र कम्युनिटी इंगेजमेन्टका सल्लाहकार प्रा डा बालचन्द्र लुइँटेल, ग्लोबल इंगेजमेन्ट डिभिजनका सहनिर्देशक डा उद्धव प्याकुरेल, प्रा डा भूपेन्द्रविमल क्षेत्री र नेपाल स्थित जाम्बियाको महावाणिज्यदूतावासका कन्सुलेट प्रभात कार्कीलगायत उपस्थित थिए।

 

असोज ६, २०७८

देश संचार

https://deshsanchar.com/2021/09/22/559622/?fbclid=IwAR1gZnr3-KTjy72ZQT5VJTXuLgmU-UPLDWwdpekyWx8hyZzXGj9u0-jJIWM